रसुवागढीपछि कोरला नाकामा पनि अवरोध, चीनसँगको व्यापार ठप्प

तु खबर संवाददाता
२०८३ आश्विन ११, आईतवार २०:०६
फाइल फोटोः पहिरो ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कालीगण्डकी करिडोरका विभिन्न ठाउँमा सडक तथा पुल संरचनामा क्षति पुगेपछि नेपाल–चीनबीचको स्थलमार्ग हुँदै हुने व्यापार प्रभावित बनेको छ।

वर्षासँगै करिडोरका कतिपय खण्डमा पहिरो खस्नुका साथै बाढी र डुबानले सडक अवरुद्ध गरेको छ। केही स्थानमा पुल तथा कल्भर्टसमेत क्षतिग्रस्त भएपछि सवारी आवागमन सहज रूपमा सञ्चालन हुन सकेको छैन। त्यसको प्रत्यक्ष असर सीमापार व्यापारमा परेको हो।

यसअघि भदौ १० गते आएको बाढीले रसुवागढी–केरुङ नाकामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले सडक संरचना प्रभावित पार्नुका साथै नेपाल र चीनतर्फका भन्सार कार्यालयसमेत बगाएपछि उक्त नाका सञ्चालनमा आउन सकेको छैन। तातोपानी नाका पनि चिनियाँ पक्षबाट अनिश्चितकालका लागि बन्द भएपछि नेपाल–चीन व्यापारका लागि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो।

तर पछिल्लो समय भएको लगातारको वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोले कोरला जोड्ने कालीगण्डकी करिडोरमै समस्या निम्त्याएपछि वैकल्पिक व्यापारिक मार्गसमेत प्रभावित भएको छ।

सडक विभागका अनुसार करिडोरका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका कारण सडक सञ्चालनमा अवरोध कायमै छ। मुख्य व्यापारिक नाकाहरूमा देखिएको अवरोधसँगै चीनबाट हुने आयात–निर्यात प्रभावित हुँदा सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधिसमेत सुस्त बनेको छ।