अमेरिकाद्वारा नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोगको घोषणा
संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने घोषणा गरेको छ । बिनाशकारी रसुवा भोटेकोशी बाढीपछि प्रभावितलाई राहत, पुर्नस्थापना र भत्किएका पुलहरुको निर्माणका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको हो ।
यस अघि पनि अमेरिकी सरकारले करीव ७५ करोड सहयोग गरेको थियो । बाढी आएको लगत्तै अमेरिकी सरकारले उद्धार र राहतका लागि यो रकम उपलब्ध गराएको थियो ।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले हिजो मात्रै केही सिमित पत्रकारहरुसँग कुरा गर्दै नेपाललाई आवश्यक परे थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिकी सरकार तयार रहेको बताएका थिए ।
नयाँ सहयोगअन्तर्गत बाढीले क्षतिग्रस्त बनाएको महत्त्वपूर्ण यातायात पूर्वाधारलाई प्रतिस्थापन गर्न स्थायी, विशेष रूपमा निर्मित पुलहरू निर्माणका लागि सरकारले सहयोग गर्ने घोषणा गरेको हो । अमेरिकाले प्रभावित समुदायहरूका लागि खानेपानी, सरसफाइ र स्वच्छता सेवाहरूका साथै आश्रय, सुरक्षा, जीविकोपार्जनलाई पनि यो सहयोग प्रयोग हुनेछ ।
भविष्यका विपद् उद्धार तथा पुनरुत्थान प्रयासहरूलाई सहयोग पुर्याउन अमेरिकी निर्मित ड्रोनहरू खरिदका लागि पनि यो रकम सहयोग उपलब्ध गराइने भएको हो । विदेश मन्त्रालयले अमेरिका थप सहयोग आवश्यक पर्ने क्षेत्रहरू पहिचान गर्न र उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट सहकार्य गरिरहेको जनाएको छ ।
न्युयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटका क्रममा अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले सो सहयोग रकम उपलब्ध गराउने बताएकी हुन् । हुकरले सो अवसरमा नेपालको रसुवा बाढीमा बेपत्ता रहेका ७० अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेकी छिन् ।
