‘ड्युरेसन अफ स्टाटस’ सम्बन्धी नयाँ नियम लागु नगर्न अदालतको आदेश
अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि ड्युरेसन अफ स्टाटस हटाउने अमेरिकी होमल्याण्ड सेक्युरिटीको नयाँ नियमलाई अदालतले रोक लगाएको छ ।
अमेरिकी जिल्ला न्यायाधीश एफ डेनिस सेलर चौथोले निषेधाज्ञा जारी गर्दै डयुरेसन अफ स्टाटसलाई हटाएर निश्चित समय अवधि दिने व्यवस्था गर्ने नियमलाई रोकेका हुन् । यहाँका उच्च शिक्षा सम्बन्धी संस्थाले ट्रम्प प्रशासन विरुद्ध संघीय अदालतमा दायर गरेको मुद्धाको सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । यो आदेशपछि होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्ट र इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टलाई नयाँ नियम लागु गर्न रोक लाग्ने छ ।
यही सेप्टेम्बर १५ देखि लागु हुने गरी तय गरिएको नयाँ नियमले विशेष गरी अन्तराष्ट्रिय विद्यार्थीलाई असर पुर्याउने अवस्था थियो ।
अमेरिका प्रवेश गर्ने विन्दुमा अमेरिका कति समय बस्न पाइनेछ भन्ने कुरा उल्लेख हुँदा निश्चित फर्किने मिति तोक्ने गरिन्छ । अन्तराष्ट्रिय विद्यार्थी, विदेशी सञ्चारमाध्यमका प्रतिनिधि र एक्सचेन्ज भिजिटरका लागि ड्युरेसन अफ स्टाटस दिइने प्रावधान छ । सो प्रावधानलाई हटाउन नयाँ नियम ल्याइएकोमा त्यसलाई अदालतले रोक्न आदेश दिएको हो ।
‘ड्युरेसन अफ स्टाटस’ हटाउने निर्णयविरुद्ध अगस्ट १८ मा अमेरिकाको म्यासाचुसेट्स जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
निवेदनकर्ताले अदालतसँग नियम खारेज गर्न यसको कार्यान्वयनमा रोक लगाउन र ऐन विपरित आएका नयाँ नियमलाई गैरकानुनी घोषणा गर्न माग गरेका छन् ।
