भोटेकोशी पीडितलाई मासिक १५ हजारसम्म आवास खर्च दिने सरकारको निर्णय

तु खबर संवाददाता
२०८३ भाद्र २८, आईतवार १८:१६

गत १० भदौमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका भोटेकोशी क्षेत्रका परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सरकारले स्थायी आवास निर्माण सम्पन्न नहुँदासम्म बाढी प्रभावित परिवारको आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम दिने निर्णय गरेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार चार सदस्यसम्म रहेको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । चार जनाभन्दा बढी सदस्य भएका परिवारका लागि थप प्रत्येक सदस्य बराबर मासिक २ हजार रुपैयाँ थप गरिनेछ ।

सरकारले उपलब्ध गराउने आवास खर्च लिन नचाहने प्रभावित परिवारका लागि भने अर्को विकल्पसमेत खुला राखेको छ । त्यस्ता परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गर्नेछ ।

मन्त्री तिमिल्सिनाका अनुसार सहायता उपलब्ध गराउन आवश्यक विवरण संकलनका लागि सम्बन्धित सबै स्थानीय तहमा फारम पठाइसकिएको छ । स्थानीय तहबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारलाई सहायता उपलब्ध गराइनेछ ।