विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउँदै सरकार
काठमाडौं । सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्टिङ प्रविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा उक्त प्रविधि सञ्चालनका लागि काम गरिरहेको जनाएको छ । यसका लागि छुट्टै कार्यदल बनाएर आवश्यक कार्यविधि तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
सेल ब्रोडकास्टिङमार्फत मोबाइलमा सिमकार्ड नभए पनि नेटवर्कको पहुँचमा रहेका मोबाइल सेटमा एकैपटक विपद्सम्बन्धी सूचना पठाउन सकिनेछ । सामान्य एसएमएसभन्दा फरक रूपमा मोबाइलको स्क्रिनमा अलर्ट देखिने र आवाज तथा भाइब्रेसनमार्फत समेत प्रयोगकर्तालाई सचेत गराउन सकिनेछ ।
मोबाइल नेटवर्कमा अत्यधिक चाप परेको अवस्थामा पनि यो प्रविधिमार्फत एकैपटक धेरै मानिसलाई सूचना पठाउन सकिने बताइएको छ । यसले बाढी, पहिरो तथा अन्य आपत्कालीन अवस्थामा जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्नेछ ।
प्राधिकरणका अनुसार प्रणालीमा जल तथा मौसम विज्ञान विभाग, नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित सरकारी तथा सुरक्षा निकायलाई समेत जोड्ने तयारी छ । भविष्यमा रेडियो तथा टेलिभिजनलाई समेत प्रणालीसँग जोडेर आपत्कालीन सूचना प्रसारण गर्ने योजना रहेको छ ।
प्रणाली सञ्चालनका लागि न्यूनतम १० करोड रुपैयाँसम्म खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका बेला एसएमएसमार्फत पूर्वसूचना दिँदा नागरिकलाई सुरक्षित हुन सहयोग पुगेको अनुभवपछि सरकारले पूर्वसूचना प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउन यो प्रविधिलाई प्राथमिकता दिएको हो ।
