जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

तु खबर संवाददाता
२०८२ चैत्र २०, शुक्रबार १०:१४

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति करिब १० बजे अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

अस्पतालमा घाइतेहरूको निःशुल्क उपचार सेवा पूर्वसांसद तथा केएमसीका सञ्चालक डा. सुनिल शर्माले उपलब्ध गराउँदै आएका छन्। सो क्रममा गृहमन्त्री गुरुङले डा. शर्मालाई निःशुल्क उपचार सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।

भेटका क्रममा मन्त्री गुरुङले घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए। अधिकांश घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले जानकारी दिए।

डा. शर्माले भने, “तपाईं यहाँ आउनुभयो र बिरामीहरूको अवस्था बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ।”

गृहमन्त्री गुरुङले घाइतेहरूको उपचारमा देखाएको सेवाभावप्रति प्रशंसा गर्दै भने, “तपाईंले घाइतेहरूको मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवा निरन्तर रहोस्, तपाईंप्रति सधैं सम्मान रहनेछ।”