बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा राजीनामा

तु खबर संवाददाता
२०८३ भाद्र १, सोमबार १७:१२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा समक्ष बानियाँले राजिनामा पत्र बुझाएका हुन् । बानियाँले सोमबार प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका हुन् ।

राजीनामा घोषणा गर्नुअघि उनले आफ्नो करिब एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका काम तथा उपलब्धिको २८ बुँदामा प्रगति विवरण प्रस्तुत गरेका थिए।

नेकपा एमालेले गत साउन ६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए।

बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको एक सातापछि अर्थात् साउन २७ गते उनले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई ६३ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए। उनी बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री हुन्।