कोरियामा खुला लोकदोहोरीको तयारी अन्तिम चरणमा, २३ टोली प्रतिस्पर्धामा
दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा आगामी १६ अगस्टमा हुने खुला लोकदोहोरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका लागि २२ टोलीले दर्ता गराएसँगै टोली दर्ता प्रक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धा तालिका भने गोलाप्रथाबाट निर्धारण गरिने भएको छ। नेपाल गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष देवी गौतमका अनुसार अगस्ट १५ गते शनिबार गोलाप्रथामार्फत् २२ टोलीमध्ये कुन टोलीले कुन टोलीसँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लगाइनेछ। गोलाप्रथाबाट तय भएको प्रतिस्पर्धा तालिका सोही दिन सार्वजनिक गरिनेछ।
त्यसको भोलिपल्ट अर्थात् अगस्ट १६ गते आइतबार प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगिता दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाली मौलिक कला, संस्कृति र लोकदोहोरीको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए। प्रतियोगिताबाट संकलित सहयोग गोरखा जिल्लाका विकट तथा स्रोतसाधनको अभाव भएका शैक्षिक संस्थामा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन उपयोग गरिने उनले जानकारी दिए।
“विदेशमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो,” अध्यक्ष गौतमले भने, “लोकसंस्कृतिको संरक्षणसँगै शिक्षा क्षेत्रमा सहयोग पुर्याउनु प्रतियोगिताको मुख्य उद्देश्य हो।”
दक्षिण कोरियामा रहेका नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनसमेत यो कार्यक्रमले योगदान पुर्याउने उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टोलीले ८ लाख कोरियन वन, द्वितीयले ४ लाख कोरियन वन र तृतीय हुने टोलीले ३ लाख कोरियन वन प्राप्त गर्नेछन्।
प्रतियोगिताका लागि टोली दर्ता शुल्क ५० हजार कोरियन वन निर्धारण गरिएको थियो। प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि खानासहित ३५ हजार कोरियन वन प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा मुख्य निर्णायकका रूपमा गायक सूर्य खड्का रहनेछन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखा र आयोजकका तर्फबाट एक–एक जना सदस्य रहने गरी निर्णायक मण्डल गठन गरिएको छ ।
प्रतियोगितालाई नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सहजीकरण गर्ने तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाले समन्वय गर्ने जनाइएको छ।
नेपाल गोरखा परिवार दक्षिण कोरियाका महासचिव अशोक खड्काले संस्था स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय रहँदै आएको बताए। विगतमा पनि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले यसपटकको प्रतियोगितालाई सफल बनाउन व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी तथा शुभचिन्तकहरूबाट सहयोगको अपेक्षा गरिएको बताए।
प्रतियोगितालाई भव्य, व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आयोजकले सहभागिता तथा सहयोगका लागि आग्रह गरेको छ। कार्यक्रममा नेपाली राजदूतावाससहित कोरियास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनेसमेत आयोजकले जनाएको छ ।
