शान्ति–सुरक्षा कायम गर्न सरकार बहुपक्षीय रणनीतिमा:प्रधानमन्त्री

तु खबर संवाददाता
२०८३ श्रावण १६, शनिबार ०२:५०

बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर रूपमा सक्रिय रहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे।

उनले सरकारको प्राथमिकता प्रभावित नागरिकसम्म तत्काल पुग्ने, उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउने तथा घटनाको निष्पक्ष छानबिन गर्ने रहेको बताए। शान्ति–सुरक्षा कायम राख्न र परिस्थितिलाई थप जटिल बन्न नदिन सरकारले बहुपक्षीय रणनीति अवलम्बन गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको वातावरण बलियो बनाउन आग्रह गर्दै अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा साथ दिनु नै जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गरे।

बैठकमा सहभागी सांसदहरूले तत्कालै आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको धारणा राखे।