शरणार्थी महासन्धिको ७५औँ वर्ष: प्रतिबद्धता नवीकरण गर्न आह्वान

तु खबर संवाददाता
२०८३ श्रावण १३, बुधबार १७:२५
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शरणार्थी सम्बन्धी १९५१ को महासन्धिको प्रतिबद्धता पुनः दोहोऱ्याउन विश्व समुदायलाई आह्वान गरेका छन् ।

७५औँ वार्षिकोत्सवका अवसरमा एक वक्तव्य जारी गर्दै महासचिवले यस्तो आह्वान गरेका हुन् ।

दोस्रो विश्वयुद्धपछि धर्म, जात, राष्ट्रियता वा राजनीतिक विचारका आधारमा जीवन जोखिममा परेका मानिसहरूलाई सुरक्षा दिने गम्भीर प्रतिबद्धतासहित यो महासन्धि ल्याइएको स्मरण गराउँदै उनले यसले लाखौँ मानिसको ज्यान बचाएको र साझा मानवताको रक्षा गरेको बताए ।

वर्तमान समयमा यो प्रतिबद्धता ठूलो दबाबमा परेको भन्दै महासचिव गुटेरेसले चिन्ता व्यक्त गरेका छन् । विश्वभर द्वन्द्व र उत्पीडन बढ्दै जाँदा ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित हुन बाध्य भएको, तर अर्कोतर्फ शरण माग्ने अधिकारमाथि नै प्रश्न उठाउने र सीमित गर्ने काम भइरहेको उनको भनाइ छ। शरणार्थी महासन्धि पुरानो अवशेष नभई आजको समयमा पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उनले यो पन्छाउने बाधा नभई निष्पक्ष शरण प्रक्रिया र बिना भेदभाव संरक्षण सुनिश्चित गर्ने बलियो आधार भएको स्पष्ट पारे ।

संरक्षणको जिम्मेवारीबाट पन्छिने, सुरक्षा खोज्नेहरूलाई दण्डित गर्ने वा राष्ट्रियता र धर्मका आधारमा विभेद गर्ने नीतिहरूलाई अस्वीकार गर्नुपर्नेमा उनको जोड थियो । सीमित स्रोत(साधनका बाबजुद ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई आश्रय दिइरहेका देशहरूलाई सहयोग गर्न वास्तविक अन्तर्राष्ट्रिय सहकार्य र जिम्मेवारीको बाँडफाँड आवश्यक रहेको महासचिवले बताएका छन् । विगतको असफलताबाट पाठ सिकेर जन्मिएको यो महासन्धिलाई पुनः कमजोर हुन नदिन र उदासीनताको सट्टा एकजुटता तथा भयको सट्टा मानवतालाई रोज्न उनले सम्पूर्ण सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।