विश्वको सुरक्षा चुनौती सामना गर्न बलियो साझेदारी आवश्यक : प्रहरी महानिरीक्षक कार्की
न्युयोर्क । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विश्वभर आतंकवाद, साइबर अपराध र जलवायु परिवर्तनजन्य सुरक्षा चुनौतीहरू जटिल बन्दै गइरहेको अवस्थामा यसको सामना गर्न बलियो अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयता आवश्यक रहेको बताएका छन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दिगो शान्ति र नागरिक रक्षाका लागि सामूहिक प्रयासमा जोड दिएका हुन् ।
उनले आतंकवाद, अन्तरदेशीय संगठित अपराध, भ्रामक तथा गलत सूचना, अवैध वित्तीय प्रवाह र जलवायु परिवर्तनका कारण सिर्जित असुरक्षाले सीमा नाघिसकेको बताउँदै यस्तो जटिल घडीमा नागरिकको रक्षा गर्न, विधिको शासन प्रवर्द्धन गर्न र विश्वमा शान्ति कायम राख्न संयुक्त राष्ट्र संघको भूमिका पहिलेभन्दा अझ बढी महत्त्वपूर्ण र सान्दर्भिक बनेको उनले बताए ।
नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा एक अटल र गौरवशाली योगदानकर्ताको रूपमा रहँदै आएको स्मरण गराउँदै कार्कीले अन्तर्राष्ट्रिय शान्तिप्रतिको अटुट प्रतिबद्धता समेत व्यक्त गरे । सो क्रममा नेपालले हालसम्म विश्वभरका संयुक्त राष्ट्र संघका विभिन्न मिसनहरूमा १७ हजार ८ सय ५२ प्रहरी कर्मचारी परिचालन गरिसकेको जानकारी उनले दिँदै नेपालले आफ्ना सुरक्षाकर्मीहरूको व्यावसायिकता, इमानदारिता र आचरणको उच्च मापदण्डप्रति प्रतिबद्धता दोहोर्याउँदै शान्ति स्थापनाको केन्द्रविन्दुमा नागरिक, विशेष गरी महिला र बालबालिकाको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् ।
