विश्वकपमा आजः फ्रान्स र मोरक्को क्वार्टरफाइनलमा
साविक उपविजेता फ्रान्स र अफ्रिकन टोली मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
अमेरिकामा भइरहेको राउन्ड अफ १६ का आ–आफ्ना खेलमा जित निकाल्दै यी दुई टोलीले अन्तिम आठको भेट पक्का गरेका हुन्।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच खेल हुनेछ। यसअघि सन् २०२२ को विश्वकप सेमिफाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ मोरक्कोलाई हराउँदै फ्रान्स फाइनल पुगेको थियो।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोलनै यो खेलमा निर्णायक गोल भयो ।
जारी विश्वकपमा एम्बाप्पेको यो सातौं गोल हो।
खेलमा फ्रान्सले १५ पटक सर्ट प्रहार गरेको थियो भने पाराग्वेले ५ सर्ट मात्र प्रहार गर्न गर्यो । फ्रान्सले यो समेत १८ पटक विश्वकप खेलिसकेको छ ।
अर्को खेलमा सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका लागि अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे।
खेलको ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए। उनै ओउनाहीले खेलको ८२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गरेपछि मोरक्कोले ३–० को सहज जित निश्चित गर्यो।
