वैदेशिक रोजगारीको नाममा ३ करोड १४ लाख ठगी, सात जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकालगायत देशमा आकर्षक तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट रु तीन करोड १४ लाख ठगी गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन्।
अनुसन्धान अनुसार लिम्बू र मगरले जापान पठाइदिने भन्दै ११ जनाबाट रु एक करोड दुई लाख संकलन गरेका थिए। त्यस्तै, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जनाबाट रु एक करोड ५० लाख ठगी गरेको पाइएको छ।
शेर्पाले फ्रान्स पठाउने प्रलोभनमा पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
