युवाहरू दिगो भविष्यका अपरिहार्य साझेदार हुन् : ईकोसक अध्यक्ष थापा
न्युयोर्क – संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् ईकोसकका अध्यक्ष लोक बहादुर थापाले विश्वका वर्तमान जटिल चुनौतीहरू सामना गर्न र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न युवाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन् ।
२०२६ को युवा मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरू केवल विकासका लाभार्थी मात्र नभएर यसलाई आकार दिने र कार्यान्वयन गर्ने मुख्य साझेदार भएकोमा जोड दिए ।
सम्बोधनका क्रममा अध्यक्ष थापाले भू-राजनीतिक तनाव, जलवायु परिवर्तन, बढ्दो असमानता र डिजिटल खाडल जस्ता समस्याले २०३० को कार्यसूची कार्यान्वयनमा गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे। दिगो विकास लक्ष्यहरूको प्रगति हाल चिन्ताजनक रूपमा मार्गभन्दा बाहिर रहेको स्वीकार गर्दै उनले यसलाई पुनः लयमा फर्काउन युवाहरूको सृजनशीलता, नवाचार र दृढ संकल्प आवश्यक रहेको बताए । उनले भने, संकटको कारणमा सबैभन्दा कम योगदान भए तापनि यसको मार सबैभन्दा बढी युवा र भावी पुस्ताले नै खेपिरहेका छन्।
अध्यक्ष थापाले युवा क्षमताको कदर गर्दै विश्वका विभिन्न क्षेत्रमा उनीहरूले पुर्याएको योगदानको प्रशंसा समेत गरे । उनले आठ वर्षीय भारतीय बालक रणवीर सचदेवाको एआई विशेषज्ञता, १५ वर्षीया सिरियाली शान्ति अभियन्ता बाना अलाबेदको मानवीय कार्य र सेनेगलका जलवायु अभियन्ता येरो सारको वातावरणीय आन्दोलनलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै युवाहरूमा आशा र सम्भावना जीवितै रहेको बताए ।
विशेषगरी अल्पविकसित र सीमान्तकृत समुदायका युवाहरूले भोग्नुपरेको शिक्षा, रोजगारी र निर्णय प्रक्रियामा सहभागिताको अभावलाई सम्बोधन गर्नुपर्ने थापाको भनाइ थियो । ‘कोही पनि नछुटुन्’ भन्ने सङ्कल्प पूरा गर्न सबै पृष्ठभूमिका युवाहरूको आवाज र प्रभावमा समान पहुँच सुनिश्चित गर्नुपर्ने थापाको धारणा थियो ।
