साम्ब ढकालको ‘लुत्ते कुकुर र तेक्वान्डो प्रशिक्षार्थी’ भित्रको चिन्तन
मकवानपुरे साहित्यमार्फत समग्र नेपाली कविताको समसामयिक धारमा बलियो हस्तक्षेप गरेका मानवतावादी कवि हुन् साम्ब ढकाल । गद्य काव्यमा उच्च कलात्मकता र प्रतिकात्मकताका कारण कवि ढकालका कविताहरू साहित्यका पाठकका लागि बन्दछन् सुन्दर खुराक । काव्यका पारखीहरू प्रतीक्षामा रहन्छन् ढकालका कविता आस्वादनका निम्ति । युगबोधलाई तीव्र समवेदनाका साथ मस्तिष्कमा एक प्रहार दिने ढकालका कतिपय कवितामा व्यङ्ग्य पनि हुन्छ प्रचुर मात्रामा । बागमती प्रदेशको राजधानी हेटौँडामा दशकौँदेखि साहित्य सेवामा तल्लीन ढकालले कवितालाई चिनाएका छन् भने कविताले पनि ढकालको बनाइदिएको छ पृथक परिचय । उम्दा कृतिहरूका सर्जक ढकालका फुटकर सिर्जनाहरू छरिएर रहेका छन् विभिन्न पत्रपत्रिकाहरूमा । यस्तै छरिएको अवस्थामा भेटिएको एउटा कविता हो – लुते कुकुर र तेक्वान्दो प्रशिक्षार्थी ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका स्थायी ठेगाना भई काठमाडौँबाट प्रकाशनरत साहित्यिक त्रैमासिक ‘नवप्रज्ञापन’ (पूर्णाङ्क १०७, माघ–चैत २०८१) मा प्रकाशित छ प्रस्तुत कविता । पत्रिकाका सम्पादक –प्रकाशक हुन् – नवराज रिजाल । नेपाली साहित्यका लागि समर्पित ‘नवप्रज्ञापन’ले बहुभाषा अङ्क पनि प्रकाशित गरी अन्य भाषाका साहित्यलाई चिनाउने प्रयास गरेको छ नेपाली साहित्यका पाठकलाई । पछिल्लो समयमा हरेक अङ्क विशेष अङ्कको रूपमा प्रकाशित भइरहेको ‘नवप्रज्ञापन’ले घटाएको छ राजधानी र मोफसलको दुरी । साम्ब ढकालजस्ता मोफसलका उत्कृष्ट सर्जकका सिर्जनालाई पढ्न पाइन्छ यसमा ।
तीस हरफमा लेखिएको ‘लुते कुकुर र तेक्वान्दो प्रशिक्षार्थी’ कविता मुख्यतः दुई प्रतीक पात्रलाई उभ्याइएको छ – ‘लुते कुकुर’ र ‘तेक्वान्दो प्रशिक्षार्थी’ । लुते कुकुरको जीउमा रौँ बाँकी नभएर अवस्था बनेको छ घीनलाग्दो । जतिखेर पनि आफ्नो जीउलाई कन्याइरहने लुते कुकुर पर्खिरहन्छ तेक्वान्दो प्रशिक्षार्थीलाई । प्रशिक्षार्थी भएकोले किशोर र सङ्केत गरिएको पक्ष बेरोजगार । दुवैको माया साटासाट हुन्छ प्रशिक्षण हलको पेटीमा । भुक्न, उफ्रन र कुदन नसक्ने लुते कुकुरले बोकेको छ शरीरैभरि खटिरैखटिराको आलो घाउ । कहिलेकाहीँ तेक्वान्दो सिक्न नगएर कुकुरमाथि दया गर्ने किशोर हुर्याउँछ पाउरोटीको टुक्रा लुते कुकुरतिर । कविलाई लाग्छ – तेक्वान्दोको कडा अनुशासन र लुते कुकुरमाथिको दयाबिच कता कता छ अनमेल । प्रशिक्षार्थीको अभ्यस्त आँखाले खोज्दछ कुकुरलाई र शिथिल तथा कमजोर भइसकेको कुकुर आश्रित छ किशोरमाथि । कवि भविष्य देखेर पोख्छन् सहानुभूतिपूर्ण अनुमान, यसरी –“तेक्वान्दो सिकेर कतै गइसक्दा लुतोले ग्रस्त कुकुर मर्छ हगि ।
कवि ढकाल एकातिर किशोरप्रति सहानुभूति राख्छन् भने अर्कोतिर कुकुरप्रति देखाउँछन् दयाभाव पनि । कुकुरको शारीरिक अवस्था देखाएर कवि भावुक बनाउँछन् पाठकलाई । सार्वजनिक स्थानमा देखिने पशुहरूप्रति सीमित मानिसले मात्र दया देखाउने गरेको र उक्त दया देखाउने मानिस पनि कहिलेसम्म दयाभावलाई निरन्तरता दिने हो भन्ने निश्चित नरहेको धरातलमा गर्दछन् कुकुरको मृत्यु हुने आशङ्का । कवि छन् समवेदनशील । मानव आफूमात्र सुरक्षित रहने होइन, अपित सुरक्षित रहँदै अन्य प्राणी जो असुरक्षित छन्, लाई बनाउनु पर्छ सुरक्षित । एक किशोर चेतना बराबर समग्र समाजको चेतना उठ्न नसकेको बिम्ब देखिन्छ यसमा । मृत समवेदनामाथि गरिएको छ एक वज्र प्रहार ।
कोही किन प्रशिक्षण लिन्छ, हुँदैन थाहा । उद्देश्य अनिश्चित अवस्थामा काममा मन नलाग्ने स्वभाविकतालाई चित्रण गर्दै कवि अर्काको भर पर्नेहरू त्यहीँ लुते कुकुरजस्तै रोगीहरू हुन् जो पाउरोटीको टुक्रा खान पाउन छोडेपछि वा दयाको टुक्रा पाउन छोडेपछि मर्छन् कि भन्ने आशङ्का उब्जाउँछन् मनमा । पूर्णतः निर्भरताले रोग निम्त्याउने बताउँदा कविले सित्तैमा केही कुरा पाउनु मृत्युसरह भएको पनि बताउन चाहन्छन् अन्तर्यमा । कसैसित त्यत्तिकै केही पाउने आशाले कर्महीन, रोगी र शारीरिक तथा मानसिक दुवै रूपमा निष्क्रिय बनाउने तथा अन्ततः कमजोर हुँदै मृत्युको निकट पुग्ने सम्भावना रहन्छ भन्ने कुरालाई स्पष्टसित बताइएको छ कवितामा । कविताले सक्रिय रहन तथा आफूमाथि विश्वास गर्न सिकाउँदै सचेत गराएको छ लुते कुकुरजस्तो मृत्युन्मुख नहुन पनि । कविले कुकुरको मृत्यु भएको नदेखाएर राखेका छन् बाँच्न सक्ने झिनो आशाको ठाउँ । यस अर्थमा कवितालाई मान्न सकिन्छ प्रतीकात्मक आशावादी ।
कवि ढकाल मानवीय तथा गैरमानवीय दुवै किसिमको पात्रको चयन गरी मानवतावादी दृष्टिकोणले हेरेका छन् र गरेका छन् व्यवहार पनि । लुते कुकुरको पक्षबाट समवेदित हुने, उसको भविष्यको विचार गरिदिने र मनमा खिन्नतापूर्वक जिज्ञासा उमार्ने दृष्टिकोणलाई मान्न सकिन्छ मानवीकरण र मानवतावादी । कवि ढकालको यही प्रवृत्तिले उनलाई दिन्छ कवि हुनुको गरिमा, बढाउँछ कविताको गर्व ।
समग्रमा, यस कविताका कवि ढकाल देखिन्छन् मानवतावादी चिन्तकका रूपमा । मानवतावाद यसको मूल स्वर हो र मानव तथा अन्य जीवसितको सम्बन्धले अझ प्रगाढ बनाउँछ मानवतावादलाई । वैश्विक मानवतावाद र चराचर मानवताको पृष्ठभूमिमा यस कविताले सन्देश दिन्छ – निराशाका बिच पनि खोज्न आशाको आभा ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४३)
