कांग्रेसको निर्णय,खड्कालाई स्पष्टीकरण दिन निर्देशन
काठमाडौं । नेपाली कांग्रेस ले पार्टीका नेता पूर्णबहादुर खड्का सँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
बुधबार सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधानविपरीत गतिविधि गरेको ठहर गर्दै उक्त निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङका अनुसार खड्काले आफू कार्यवाहक सभापति रहेको दाबी गर्दै पटक–पटक अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गरेका थिए।
समितिले यसअघि पनि खड्कालाई यस्तै गतिविधिका लागि सचेत गराएको थियो। २०८२ चैत १४ गते नक्कली लेटरप्याड प्रयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गतेको बैठकले ‘एक पटकका लागि सचेत’ गराउने निर्णय गरेको थियो। तर, पुनः चैत ३० गते पनि आफू पदमै रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
अनुशासन समितिको निष्कर्ष अनुसार खड्काले पार्टीको आधिकारिक लेटरहेडको दुरुपयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत अभिव्यक्ति दिएका छन्, जुन पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (८)(घ) विपरीत हो। त्यसैले उनलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिइएको छ। निर्धारित समयभित्र सन्तोषजनक जवाफ नआएमा थप कारबाही गरिने जनाइएको छ।
पार्टीभित्रको आन्तरिक विवादका बीच खड्काले आफू अझै कार्यवाहक सभापतिको हैसियतमा रहेको दाबी गर्दै आएका छन्। यता, वर्तमान नेतृत्वमा गगन थापा नेतृत्वको कार्यसमिति गठन भइसकेको छ भने सो प्रक्रियासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको छ।
यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा भएका अनुशासन उल्लंघनसम्बन्धी उजुरी दर्ता गर्ने म्याद पनि थप गरेको छ। यसअघि चैत मसान्तसम्म रहेको समयसीमा अब २०८३ वैशाख मसान्तसम्म पुर्याइएको छ। समितिले उक्त समयसीमापछि प्राप्त उजुरीमाथि कुनै कारबाही नगर्ने स्पष्ट पारेको छ।
कांग्रेसभित्र निर्वाचन अवधिमा अन्तर्घात तथा अनुशासन उल्लंघन गर्ने गतिविधिमाथि छानबिन तीव्र पारिएको संकेत पनि समितिको पछिल्लो निर्णयले दिएको छ।
