बागमती प्रदेशसभा बैठक बोलाइयो

तु खबर संवाददाता
२०८२ चैत्र २२, आईतवार २०:४५

बागमती प्रदेश सरकारले प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन २४ चैत मंगलबारलाई आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वान भएको बताए । प्रदेश सरकारले मंसिर ३ गते प्रदेशसभाको १६ औं अधिवेशन अन्त्य गरेको थियो ।

केही दिन अघि बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि प्रदेशसभा बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो भने सोही बैठकले मन्त्रालय तथा निर्देशनालयहरुको संख्या घटाउन सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको थियो ।