सभामुख चयन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो २ः३० बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ अनुसार चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन गरिनेछ । सोही अनुसार निर्वाचन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको हो ।
यदि एकभन्दा बढी उम्मेदवारी परे आइतबार बस्ने बैठकमा मतदान प्रक्रिया अघि बढाइनेछ । तर, हालको अवस्था हेर्दा बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्विरोध निर्वाचित हुने सम्भावना उच्च देखिएको छ ।
रास्वपाले पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदका लागि अघि सारेको छ । बिहीबार बसेको संसदीय दल बैठकले अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकोले अर्याल सभामुख निर्वाचित हुने लगभग निश्चित मानिएको छ ।
निर्वाचन प्रक्रियाअनुसार आइतबारको बैठकमा प्रस्तावकले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने समर्थकले त्यसको समर्थन गर्नेछन् । त्यसपछि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
यसैबीच, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन भने चैत २३ गते हुने तय गरिएको छ ।
