मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित

तु खबर संवाददाता
२०८२ फाल्गुन २२, शुक्रबार १३:४१

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। यससँगै नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पहिलो जित दर्ता गरेको छ।

अन्तिम मतपरिणाम अनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याएका छन्। गौचन १ हजार ५०१ मतान्तरले विजयी बनेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अद्धितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। यस्तै राप्रपाकी कमला लालचन्दले १६१, नेकपाका ङुटुङ गुरुङले १५१ र उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन्दले ८५ मत प्राप्त गरेका छन्।

मुस्ताङमा मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ।

३२ वर्षीय गौचन यसअघि २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। उनी नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्। पर्यटन व्यवसायमा संलग्न गौचनको मुस्ताङमा होटल व्यवसायसमेत रहेको छ।

यस जितसँगै गौचनको काँधमा पिताको राजनीतिक विरासतलाई निरन्तरता दिँदै मुस्ताङको विकास तथा पर्यटन प्रवर्द्धनलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी आएको छ।