निर्वाचनको तयारीबारे गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेटघाट
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच र गृहमन्त्री ओमप्रकाश अर्यालबीच निर्वाचनको तयारीका सन्दर्भमा भेटघाट भएको छ । आयोगको कार्यालयमा भएको भेटमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी र यसको सुरक्षा व्यवस्थाबारे छलफल भएको हो । निर्वाचनको समग्र सुरक्षा व्यवस्था, आचारसंहिताको पालना र यसको कार्यान्वयनका बिषयमा भेटमा छलफल भएको थियो ।
फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मौन अवधिमा हुने निर्वाचन आचारसंहिताको उलंघन र यसको नियन्त्रणका विषयमा पनि छलफल भएको थियो । निर्वाचन सुरक्षालाई विशेष कार्ययोजना सहित आवश्यक तयारी गरिएको र सुरक्षा व्यवस्थालाई भरपर्दो र चुस्त बनाइएको गृहमन्त्री अर्यालले प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराएका छन् ।
भयरहित निर्वाचन गराउन मन्त्रालयले सबै निकायसँग समन्वय गरेको समेत अर्यालले आयोगलाई जानकारी गराएका थिए ।
निर्वाचन आचारसंहिताको परिपालना गराउन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरु तोकेको र उनीहरुले सुक्ष्म रुपमा सोको अनुगमन गर्ने र आवश्यक परेमा कारवाही गर्ने प्रमुख निर्वाचन आयुक्तले यसअघि नै बताइसकेका छन् भने आयोगले यस सम्बन्धमा आचारसंहिता अनुगमन अधिकृतहरुलाई निर्देशन समेत दिइसकेका छन् ।
