देशभर ६० प्रतिशत मतदान, मतपेटिका सङ्कलनपछि मतगणना सुरु हुने

तु खबर संवाददाता
२०८२ फाल्गुन २१, बिहीबार १९:२२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा भण्डारीले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए। उनका अनुसार केही मतदान केन्द्रमा मतदान प्रक्रिया अझै जारी रहेकाले अन्तिम प्रतिशत केही बढ्न सक्ने सम्भावना छ।

यस वर्षको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका थिए। निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुन योग्य थिए।

आयोगका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलनको प्रक्रिया सुरु गरिनेछ। दुर्गम क्षेत्रका १५ जिल्लाका विभिन्न ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने व्यवस्था गरिएको छ।

मतपेटिका सम्बन्धित केन्द्रमा पुगेपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो, जसमध्ये १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको थियो। यसपटकको मतदान प्रतिशत भने अघिल्लो निर्वाचनको तुलनामा केही कम देखिएको आयोगले जनाएको छ।