फागुन २१ को निर्वाचन सर्दैन, सुरक्षाको पूर्ण ग्यारेन्टी छः गृहमन्त्री

तु खबर संवाददाता
२०८२ फाल्गुन ११, सोमबार ०४:५४

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पारेका छन् । यसका लागि सुरक्षा व्यवस्था समेत मजबुत रहेको उनले बताएका छन् ।

संविधानतः संसद् विघटन भएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन सार्ने वा यसबाट पन्छिने छुट सरकारलाई नभएको बताए। निर्वाचनलाई सरकारको ‘निष्ठाको जाँच’ संज्ञा दिँदै उनले शान्तिपूर्ण रूपमा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे।

गृहमन्त्रीले निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू भइसकेको जानकारी दिँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त परिचालनमार्फत सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए ।

हालैका केही छिटपुट झडपका घटनाले समग्र निर्वाचनलाई कुनै असर नगर्ने र ती स्थिति गृह प्रशासनको पूर्ण नियन्त्रणमा रहेका छन्।गत भदौको ुजेनजीु आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार र फरार कैदीबन्दी नियन्त्रणमा आइसकेकाले अब त्यो सुरक्षा चुनौती नरहेको उनले स्पष्ट पारे।

हामीले समयमै निष्पक्ष निर्वाचन गराउने र निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएका छौँ, मन्त्री अर्यालले भने ।