मेयर मामदानीद्वारा बोन्सिग्नोरलाई एफडीएनवाई कमिश्नरमा नियुक्त

गिरिजा अधिकारी
२०८२ पुष १०, बिहीबार ०९:११
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

न्युयोर्क । नवनिर्वाचित मेयर जोहरान मामदानीले मंगलबार लिलियन बोन्सिग्नोरलाई न्युयार्क सिटी फायर डिपार्टमेन्टको नयाँ प्रमुख (कमिश्नर) को  रूपमा आउँदो जनवरीमा कार्यभार सम्हाल्ने गरी नियुक्त गरेका छन् ।मेयर मामदानीले जनवरी १, २०२६ बाट कार्यभार सम्हालेपछि उनीले अग्नि नियन्त्रण विभागको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने छिन् ।

कोभिड महामारीका समयमा अग्रपंक्तिमा रहेर न्युयोर्कका नागरिकको सेवा गरेकी उनी यस अघि पनि अग्नि नियन्त्रण विभागमै कार्यरत थिइन् । ३१ वर्षसम्म यो विभागमा रहेकी उनी सन् २०२२ बाट अवकासमा गएकी थिइन् ।

नव निर्वाचित मेयर मामदानीले नजिकबाट यो विभागलाई बुझेको अनुभवी व्यक्तिलाई विभागको जिम्मेवारी दिइएको बताए । जसले ज्यान जोखिममा राखेर मानिसहरुको रक्षा गर्छन्, उनीहरुको कामलाई नजिकबाट बुझेको व्यक्ति यसको नेतृत्वमा आउनु राम्रो हो, मामदानीले भने ।

मामदानीले केही विभागका कमिश्नरहरुलाई अन्तपरम समयका लागि पदमै राख्ने घोषणा समेत गरेका छन् । मेयर एरिक एडम्सले नियुक्त गरेका व्यक्तिहरुलाई नहटाई अन्तरिम समयका लागि पदमै राखिने भएको हो ।

यस अघि नव निर्वाचित मेयर मामदानीले दुई जना उपमेयरको घोषणा गरेका थिए ।

मामदानीले लैला बोजोर्गलाई आवास उप-मेयर र जुली सुलाई आर्थिक न्याय उपमेयरका रुपमा नियुक्त गरेका हुन् । आर्थिक उपमेयर नयाँ सिर्जित पद हो, यो पद यस अघि न्युयोर्क सिटीमा थिएन । आवास उपमेयर नियुक्त बोजोर्ग १५ वर्षदेखि आवास नीति निर्माणमा संलग्न छिन् भने सु २०२५ को जनवरीसम्म बाइडेन प्रशासनमा कार्यबाहक श्रममन्त्रीको रुपमा थिइन् ।

नव निर्वाचित मेयर मामदानीले न्युयोर्कवासीको हितको पक्षमा आफू उभिने बताउँदै न्युयोर्कमा भाडामा बस्नेहरुका लागि चार वर्षसम्म भाडा वृद्धि रोक्ने आफ्नो योजना पूरा गर्ने बताए । मेयरबाट विदा हुँदै गर्दा एरिक एडम्सले रेन्ट गाइडलाइन्स बोर्डमा आफ्ना चार जना व्यक्तिहरु नियुक्त गरेपछि मामदानीले आफू आफ्नो योजनामा अडिग रहेको बताएका हुन् ।