चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं — जिल्ला अदालत काठमाडौंले मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले बुधबार गरेको आदेशअनुसार चक्रे मिलन र रोजेश खड्कालाई जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न निर्देशन दिइएको हो।
साउन १५ गते साम्बाला होटलबाट गुन्डागर्दीको आरोपमा पक्राउ परेका उनीहरूमाथि सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेका थिए। थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अन्य प्रतिवादीमध्ये गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेल, रोशन सुवेदी र सन्दीप केसीलाई जनही १० हजार रुपैयाँ धरौटी तोकिएको छ। आदेशपछि उनीहरू धरौटी बुझाएर बाहिरिने प्रक्रियामा छन्।
