राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहाल, प्रहरी परिचालन
काठमाडौं — राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा आन्तरिक विवादका कारण हात हालाहालको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको छ।
बिहीबार आयोजित अधिवेशनको प्रारम्भिक चरणमै केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गर्न थालेपछि परिस्थिति तनावग्रस्त बनेको थियो। त्यस क्रममा उपस्थित कार्यकर्ताबीच धकेलाधकेल र हात हालाहाल भएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो।
कार्यक्रम औपचारिक रूपमा सुरु हुनुअघि नै माइकिङ मार्फत संयमित रहन र धैर्यपूर्वक बस्न आह्वान गरिए पनि केही कार्यकर्ताको आक्रोश रोक्न नसकिएको आयोजकले जनाएका छन्।
पछिल्ला दिनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबीचको विवाद चर्किंदै गएको छ, र सोही तनाव युवा संगठनको अधिवेशनमा पनि प्रतिविम्बित भएको देखिएको छ।
