क्यानाडामा नेपाली क्रिएटर्स फेस्ट २०२५ आयोजना हुने

क्यानडा – क्यानाडामा नेपाली क्रिएटर्स फेस्ट २०२५ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी तथा क्यानडामा बस्ने नेपाली समुदायको सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न फेस्ट आयोजना गर्न लागिएको आयोजक सस्था मानभी फाउण्डेशनले जानकारी दिएको छ । यसले नेपाली समुदायको सिर्जनात्मक प्रतिभालाई क्यानाडाका अन्य समुदाय र विश्वस्तरमा सार्वजनिक गर्न मद्धत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा नृत्य, गायन, फोटोग्राफी, भिडियो बनाउने, कविता, कला, संगीत, लगायत विभिन्न विधामा रुचि राख्ने नेपालीहरूले अनलाइन मार्फत सहभागी हुन सक्नेछन् र दर्ता शुल्क नलाग्ने आयोजक सस्थाको भनाइ छ ।
प्रतिस्पर्धाको मूल्याङ्कन नेपाल, क्यानडा र अमेरिकाका ख्यातिप्राप्त निर्णायकहरूले गर्नेछन् । कार्यक्रमको फाइनल टोरेन्टोमा आयोजना गरिने र यो मञ्चमा नेपाली प्रतिभाहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
मानभी स्टुडियोज स्थापना गरेको एक वर्ष सफलतापूर्वक पूरा गरेपछि, मानभी फाउण्डेशन नामक गैर नाफमूलक सामाजिक सस्था सुरु गरिएको आयोजक सस्थाका निर्देशक विधान कार्कीले जानकारी दिए ।