लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजा पक्षधरहरुलाई आग्रह गरेका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोल्दै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह गरेका हुन् ।
लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको स्पष्ट पार्दै प्रचण्डले अलोकतान्त्रिक बाटो रोजेमा क्रान्तिले फेरि एक पटक आफ्नो शक्ति देखाउने उनको चेतावनी थियो । त्यसैगरी प्रचण्डले नेपालमा प्रतिक्रान्तिको तरबार चलाउन खोजिएको बताएका छन् । सरकार र राजावादीका विरुद्ध एकैसाथ जुध्नुपर्ने भयो, उनले भने ।
‘इतिहासका विभिन्न कालखण्डका बलिदानप्रति हामी सबै कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ, उनले भनेका छन् । त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ, प्रचण्डले स्पष्ट पारेका छन् ।
आफूले सरकारको नेतृत्व गर्दा सम्म सबै समान्य अवस्थामा रहेको बताउँदै प्रचण्डले अहिले एमाले र काँग्रेसको गठबन्धनको सरकारका कारण सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था आएको बताए । सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको प्रचण्डको भनाइ थियो ।