फ्रान्सको मायोट क्षेत्रमा शक्तिशाली आँधी

तु खबर संवाददाता
२०८१ मंसिर ३०, आईतवार १६:३६

पेरिस । हिन्द महासागरमा अवस्थित मायोट टापुमा शक्तिशाली आँधी आएको छ । यो चक्रवात झन्डै १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

उक्त चिडो चक्रवातको वितण्डाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । चक्रवातको समयमा हावाको वेग २२५ किलोमिटर प्रतिघण्टाको दरमा रहेको थियो ।

आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेको जनाइएको छ । हावाहुरीका कारण मायोट क्षेत्रमा बिजुली अवरुद्ध भएको छ । खानेपानीको आपूर्ति पनि बन्द भएको बताइएको छ ।

पहाडको भिरालो जमिनमा बनेका अस्थायी घरहरू पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हिन्द महासागरमा अवस्थित मायोट टापु फ्रान्सको नियन्त्रणमा छ ।–एजेन्सी