बिआरआई सम्झौता कार्यान्वयन हुन नसक्ने कमल थापाको दाबी
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पूर्ब परराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् ।
बिआरआई सम्झौता स्वागतयोग्य भएपनी यो सम्झौता कार्यान्वयनमा आशङ्का गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीनसँगको सम्झौता कार्यान्वयन नहुने दादी गरेका हुन् ।
बिहीबार गृहनगर हेटौँडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बीआरआईबाट मुलुकले लाभ लिनुपर्ने भएपनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गरे ।
चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उनको भनाई छ । बीआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्दै उनले भने, “बीआरआई सम्झौता स्वागत योग्य छ । तर, यो कार्यान्वयन हुन्न । लगानीको मोडलका विषयमा काँग्रेस, एमाले बिच नै मतभेद छ । अनेक अर्थ लाग्ने अस्पष्ट छ । चीन र नेपालबीच नै मतभेद छ ।”
गृहनगरमा कमल थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गरेका थिए ।
३ पटक परराष्ट्रमन्त्री बनेका उनले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको उल्लेख गरे । संविधानसभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाई छ ।
कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने उनको विश्वास छ ।
