अवैध लागूऔषधसहित १५ जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, झापा र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको कोशी गाउँपालिका–१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–१७ बस्ने २४ वर्षीय समिम मिँया र रामधुनी नगरपालिका–३ बस्ने २८ वर्षीय अमित चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही भन्सार कार्यालयस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २१ ग्राम ८ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका–५ बस्ने ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका–१० बस्ने २९ वर्षीय बिकास अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले बा.४९ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलो बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय सन्दिप चापागाइ र सोही उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय अर्जुन बिक रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचिपुल सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित इलाम सुर्योदय नगरपालिका–६ बस्ने २८ वर्षीय अनिल प्रधानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, झापाकै भद्रपुर नगरपालिका–९ घोडामारा चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय सरेन किश्कुलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले भद्रपुरबाट घोडामारतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा मेचिनगर नगरपालिका–१४ बस्ने २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका–२ बस्ने २४ वर्षीय साहिल दर्नाल र भद्रपुर नगरपालिका–९ बस्ने २१ वर्षीय सामेल मगरले उक्त लागूऔषध खरिद गर्ने भन्ने खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–७ नयाँ बस्तिबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ गुलरा बस्ने ३७ वर्षीय जनक कुमार मिजार र बर्दगोरिया गाउँपालिका–४ बस्ने २६ वर्षीय तेज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय ३० मिलिग्रामसहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका–१ डेरा गरी बस्ने जानकी गाउँपालिका–५ घर भएका ३५ वर्षीय फैयाज अलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित अलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
