दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजन्म पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडकखण्डमा मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जनाइएको छ ।
