लागूऔषध गाँजासहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार १५:२१
सांकेतिक तस्बिर

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित बिहीबार तीन जना पक्राउ परेका छन् ।

उक्त स्थानबाट करिब १ सय किलोग्राम गाँजासहित उदयपुर बेलका नगरपालिका–३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को.२ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उदयपुर बेलका नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।