सामाजिक सञ्जालमार्फत् अराजक गतिविधि फैल्याएको आरोपमा युवक पक्राउ
पर्सा । सामाजिक सञ्जालमार्फत् समाजमा अराजक गतिविधि फैल्याएको अभियोगमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडीमार्फत् अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा संलग्न पटेललाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।
