छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र २७, बिहीबार १६:३५

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, सिराहा, कपिलवस्तु, झापा, रौतहट र मोरङ जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुर, भिमदत्त नगरपालिका–१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९० मिलिग्रामसहित बुधबार साँझ पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका–१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सिराहाको मिर्चैया नगरपालिका–५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–२ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका–५ स्कुलटोल बस्ने ४० वर्षीया प्रमिला देबी साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ५ मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका–६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादव रहेका छन् । उनीहरुलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको हो ।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका–२ किसन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ९ सय मिलिग्रामसहित बुधबार सोही ठाउँ बस्ने ३३ वर्षीय अर्जुन कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट झिलझिलेतर्फ आउँदै गरेको बा.६२ प ३१४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, रौतहटको देवाहि गोनाही नगरपालिका–९ धरहरीस्थित राम जानकी मन्दिरबाट अवैध लागूऔषध गाँजा १ किलोग्रामसहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्दिरका पुजारी सोही ठाउँ बस्ने ६५ वर्षीय सिकिन्द्र राय यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

उता, मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय १० मिलिग्रामसहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय गणेश तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परणामको लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१–०१–०१६ प ७१३३ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी, मोरङको रतुवामाई नगरपालिका–२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ५० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–८ दाम्राभिट्टा बस्ने २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछाने रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।