अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको जानकी गाउँपालिका–७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९ सय २४ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, झापाको झापा गाउँपालिका–४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५९ मिलिग्रामसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी गाउँपालिका–३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरूङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
