अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२० बाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित सोही उपमहानगरपालिका मनिकापुर बस्ने ३२ वर्षीय राज कुमार कुर्मीलाई पक्राउ गरेको हो ।
प्रहरी बिट राँझा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, मोरङको बिराटनगर उपमहानगरपालिका–१६, दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४ सय ५० मिलिग्रामसहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–११ बस्ने २३ वर्षीय इसान चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
