हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १७:००

सिराहा । सिराहा नगरपालिका–३ मखनाहा बस्ने ४० वर्षीय राकेश कुमार वर्माको हत्या गरेको अभियोगमा शुक्रबार बिहान एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुर बस्ने ३२ वर्षीय प्रकाश यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित नेपाल आयल निगम लिमिटेडको फिल्ड अप्रेशन रूममा सोही आयल निगममा कार्यरत प्रकाश र राकेश कुमार बिच एकआपसमा विवाद हुँदा प्रकाशले बेल्चा प्रहार गरेका थिए । बेल्चा प्रहारबाट राकेश कुमारको घटनास्थलमै मृत्यु भएको थियो ।

पक्राउ परेका प्रकाशमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।