भारतीय कार दुर्घटना हुँदा चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार ०८:५०

पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार राति रानिमहल जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार तानसेन नगरपालिका–१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना हुँदा पाठक गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेका छन् । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।