विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका–९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
