अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १५:४२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, स्याङ्जा र दाङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवान रहेका छन् । बिहीबार दिउँसो प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–८ केदारनाथ मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारागन २० एम्पुल र नुर्फिन २१ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–९ बस्ने ३४ वर्षीय सुवास गुरूङ र सोही महानगरपालिका–३ बस्ने २२ वर्षीय दिनेश सिंह रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. २ ख ५८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी कुमालटोल बस्ने २८ वर्षीय अनिल कुमाललाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर ४ सय ७० मिलिग्राम र १ थान मोबाइलसहित शुक्रबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट फर्सेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।