सुनको सिक्री लुटपाट गर्ने पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको भनि प्रहरीमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको ।
