लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, झापा र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया संगिता कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
उनलाई लागूऔषध ब्राउनसुगर २ सय ५० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई नगर प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त परिणामको लागूऔषध पक्राउ गरेको हो ।
यस्तै, झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ४ सय ६० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरीले उक्त परिमाणको लागूऔषधसहित दमक नगरपालिका–११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका–२ बस्ने २४ वर्षीय खुमराज भण्डारीलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–६ चम्मन चौराहस्थित गोकुलेश्वर मःम सेन्टरका संचालक सोही नगरपालिका–१८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथ लागूऔषधसहित पक्राउ परेका छन् ।
मदन अवैध लागूऔषध चरेश ३ सय ६० ग्रामसहित बुधबार दिउँसो पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
