ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु
सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशातर्फ आउँदै गरेको गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्याङ्करले ठक्कर दिँदा महेशको घटनास्थलमा नै मृत्यु भएको थियो भने जयप्रकाश गम्भीर घाइते भएका थिए । घाइते उनको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
