लागूऔषधसहित ११ जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १७:२३

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, काठमाडौं, चितवन, झापा, सर्खेत र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पर्साको पटर्वासुगौली गाउँपालिका–४ अकवा गाउँबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम, चरेश १ सय ९२ किलोग्राम र गाँजाको धुलो २ सय ६७ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त परिमाणको लागूऔषधसहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई बिहीबार राति पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपलिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ रोराङ गाउँपालिका–९ बस्ने ३६ वर्षीय उत्तम ठकुरी रहेका छन् ।

उनलाई बिहीबार बेलुकी प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९३३७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी ट्रक चालक ठकुरीलाई पक्राउ गरिएको हो ।

यसैगरी, काठमाडौं महानगरपालिका–११ बाट अवैध लागूऔषध चरेश ३८ ग्राम ८ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं त्रिपुरेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका–६ घर भएका २३ वर्षीय रोशन कार्की रहेका छन् । प्रहरी बिट थापाथलीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–५ भक्टेश्वरा बस्ने ५८ वर्षीया धन माया गुरुङ लागूऔषधसहित पक्राउ परेका छन् । अवैध लागूऔषध गाँजा १३ किलो ९ सय ८६ ग्रामसहित उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापाको कमल गाउँपालिका–२ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम, गाँजा १ सय ग्राम र नगद १२ हजार ६ सय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय कमल गुरूङ समेत २ जना रहेका छन् । बिहीबार दिउँसो प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय ६० मिलिग्राम र नगद २७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने २४ वर्षीय महेन्द्र शाही र सोही नगरपालिका–२ बस्ने २४ वर्षीय जगत शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित कानेपोखरी–रंगेली सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ७ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका २४ वर्षीय मिथलेस कुमार मण्डल, २६ वर्षीय भस्कर कुमार शर्मा र २५ वर्षीय सौरव कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एल ९३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।