अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १८:०४

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आगूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, धनकुटा र जुम्ला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले बर्दियाको मधुवन नगरपालिका–८ लालसिंह चोक बस्ने २४ वर्षीय गोवान सिंह जिसीलाई अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिसी लागूऔषध खैरो पदार्थ ३ सय ९० मिलिग्राम र नगद १ हजार ९ सय रूपैयाँसहित बुधबार बिहान पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय सोनाश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १ सय ३५ किलोग्रामसहित बुधबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदभूमी गाउँपालिका–५ बस्ने २८ वर्षीय भूमिराज राई रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ३८०८ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा चालक सिट पछाडि ९ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक राईलाई पक्राउ गरिएको हो ।

यसैगरी, जुम्लाको तिला गाउँपालिका–३ घर भई चन्दननाथ नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र सिंह लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएको र उनलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।