अवैध गाँजासहित दुई भारतीय नागरिक पक्राउ
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबासस्थित सडकबाट करिब ६ सय किलोग्राम गाँजासहित मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम पंचायत कुरिया बस्ने २५ वर्षीय गुडडु कुमार यादव र भारत मधुरापुर बस्ने २९ वर्षीय मनिष कुमार गिरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाग्मती प्रदेश ०३–००१ ख २८३२ नम्बरको मिनि ट्रकमा गाँजा ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्न खोज्दा नरोकी फरार भएको थियो ।
फरार ट्रकलाई इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले सोही ठाउँस्थित यामाहा स्वरूमको अगाडिबाट वीआर २० जी ७०४३ नम्बरको ट्रकमा सामान सार्न लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो ।
हाल फरार मिनि ट्रकका चालकको प्रहरीले खोजीकार्य गर्नुका साथै घटनाको बारेका आवश्यक अनुसन्धान गरिरहेको छ ।
