हेटौंडाबाट गाँजासहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार १७:५१

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टस्थित सडकबाट लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बुंदेल टोली माधव मालसलामी पटना सिटी पटना–८००००८ बस्ने वर्ष २० को आदित्य कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनलाई लागूऔषध गाँजा २५ किलो ५०० ग्रामसहित शनिबार पक्राउ गरिएको हो । शनिबार बिहान ११ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बीआर ०१ बीजे ८४८३ नम्वरको सेन्ट्रो ह्वाइट कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको विभिन्न भागमा फल्स बटन बनाई लुकाई छिपाई ल्याइएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

बरामद लागूऔषध गाँजा र कारसहित पक्राउ परेका उनलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाइएको छ ।