प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

तु खबर संवाददाता
२०८१ श्रावण १८, शुक्रबार ०९:१०
file-photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैठौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् ।

उनी पछिल्लो पटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुनेछ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदैछ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् । त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल भने सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो ।