अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार १५:५१

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रूपैयाँ र २ थान एटिम कार्डसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–४ सितापुरी बस्ने ४१ वर्षीय धनबहादुर लिम्बु रहेका छन् । उनलाई बुधबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५३ प १२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

यस्तै, कैलालीको कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १ सय मिलिग्रामसहित बुधबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने २८ वर्षीय राजु चौधरी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१९, बागफाँटा दशरथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ५ सय ५० मिलिग्रामसहित बुधबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार राति उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको इनरूवा नगरपालिका–४ बिरेन्द्र टोलबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ७ ग्राम ४० मिलिग्राम, मोबाइल ४ थान, नगद १ लाख ५ सय रूपैयाँसहित बुधबार दिउँसो तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ बस्ने ३० वर्षीय प्रितम राई समेत ३ जना रहेका छन् ।

इनरूवा नगरपालिका–४ बिरेन्द्र टोल बस्ने अशोक कुमार यादवको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.१३ च २८५५ नम्बरको स्कार्पियो समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।