मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न एमालेको ह्विप

तु खबर संवाददाता
२०८१ श्रावण ६, आईतवार ०९:३३
file-photo

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले बागमतीले आफ्ना सांसदहरुलाई विपक्षमा मत दिन शनिबार ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्वीप जारी गरिएको जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

संघीय सरकारमा कांग्रेस एमालेसहितको गठबन्धन बनेसँगै प्रदेशमा पनि एमालेले गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।